प्रिय अध्यक्ष कमरेड,
अखिल नेपाल महिला संघ
पनौती नगर कमिटी, पनौती
हार्दिक अभिवादन एवं लालसलाम ।
यहाँद्वारा स–सम्झना प्रेषित मिति २०८२ भाद्र १ गतेको पत्र प्राप्त भयो । सम्पूर्ण महिला दिदी बहिनीहरुको सुख, शान्ती, समृद्धि, दीर्घायु तथा उत्तरोत्तर प्रगतीको कामना गर्दै यही भाद्र ४ गते आयोजना भएको तिज विशेष कार्यक्रममा नेपाल बौद्धिक परिषद्लाई समेत सम्झना गर्दै जनसङ्गठन बीचको ऐक्यबद्धतालाई अक्षुण्ण राख्न गर्नु भएको सकारात्मक पहलप्रति हार्दिक आभार व्यक्त गर्दछु । कार्यक्रम व्यवस्थित तवरकासाथ भव्यरुपले सफल भयो भन्ने कुरामा विश्वस्त छु ।
प्रिय कमरेड,
परम्परागत तवरले मनाउँदै आएको हरितालिका तिजका सम्बन्धमा हामी जानिफकार नै छौं । त्यसैले, सबैले चर्चा गर्ने माता पार्वती र भगवान शिवजीको विवाहको प्रसङ्ग यहाँ स्मरण गरिरहन नै परेन । तर, माक्र्सबाद–लेनिनवादमा विश्वास राख्ने र घटना, परिवेश तथा पात्रलाई सतहबाट मात्र नहेरी तिनीहरुलाई तल पिँधसम्म पुगेर खोतल्ने वैज्ञानिक दृष्टिकोण बोकेका द्वन्दात्मक भौतिकवादमा विश्वास गर्नेहरुले निम्न कुरामा ध्यान दिनुपर्छ जस्तो लाग्छ, मलाई :
संभवत पार्वती नै यस्तो पहिलो नारी हुन जसले आफुले चाहेको देवताहरुका पनि देवता भनेर जानिने देवादिदेव श्री महादेव बाहेक अन्यसँग विवाह गर्ने संझौता गरिनन् । र, कसै गरी मनले रोजेको योग तथा नृत्यका आदिपुरुष महादेव जसलाई योगेश्वर र नटेश्वर पनि भनेर जानिन्छ, उहाँलाई नै वरको रुपमा वरण गरिन् । त्यत्तिमात्र नभएर एउटा प्राणीको अङ्ग अर्को प्राणीमा सहजै प्रत्यारोपण गर्न सक्ने महादेवको अद्वितीय क्षमताको बारेमा पनि जानिफकार थिइन, माता पार्वती ।

खासै गुलजार नभएको कैलाश पर्वतमा आफुलाई एक्लै छाडेर यताउता बरालिने महादेवको अनुपस्थितिमा नै श्रीगणेशलाई सुपुत्रको रुपमा पैदा गरिन् । र, घर फर्कदा श्री महादेवलाई चकित बन्नु पर्ने अवस्थामा पुर्याइन । यसर्थ, श्रीमान्को अनुपस्थितिमा कुनै उपायले सन्तान पैदा गर्ने साहसी महिला पनि पार्वती नै हुन् ।
आफ्नो गण अर्थात देवगणको रक्षाको लागि हलाहल विष पान गरी योगबलले त्यसलाई घाँटीमा नै अड्काएर नीलकण्ठको उपाधि हासिल गर्ने घोर तपश्वीका अतिरिक्त चौसठ्ठी कलामा पारङ्गत चामात्कारिक श्रीमहादेवले राजहाँस लगायत विभिन्न प्राणीको रुपाधारण गरेर बरालिदा आफुले पनि त्यस्तै रुप धारण गरी महादेवका तीव्र कामवासना शान्त पार्न कोसिस गर्ने अद्भूतकी नारी शक्ति थिइन पार्वती ।
सातबर्षकी गोमासँग श्री महादेवले अन्यथा गर्दा आफ्नो तर्फबाट सके जति भद्र असहमति जनाउने र उनको कल्याणको उपाय अवलम्बन गर्ने करुण हृदयकी महिलावादी पनि थिइन पार्वती ।
प्रिय कमरेड,
तिज पर्वले आकर्षक नृत्य र सुरिलो भाकामार्फत केही विरह केही पीडा, केही हर्ष र केही विद्रोहका भाव उन्मत्तताकासाथ अभिव्यक्त गर्न प्रेरित गर्दछ । ‘समृद्ध नेपाल र सुखि नेपाली’ को सपना बोकी हिडेका राता मान्छेका व्यक्तिगत स्वार्थ कम र सामूहिक स्वार्थ बढी हुनुपर्दछ । उनीहरुले आफ्नो सुख सुविधालाई तिलाञ्जली दिएर सीमान्तकृत वर्ग र समुदायको हित र कल्याणको जिम्मेवारी बोकेर सदा इमानको मार्गमा पाइला अघि बढाउनु पर्दछ ।
अन्यथा सर्वसाधरणको नजरबाट गिरिने तथ्यलाई हरदम हेक्का राखिरहनु पर्दछ । तसर्थ, राता विचारका वाहकरुले गाउने गीत र पस्कने नृत्य पनि सोही अनुरुपको हुनु वाञ्छनीय हुन्छ । कतै सामान्य त्रुटी भयो भने भनाइ र गराइबीचको भिन्नताले गर्दा सर्वसाधरणले शङ्काको दृष्टिकोणले हेर्ने र पत्यार गर्न कठिन हुने असहज र अनपेक्षित अवस्था पैदा हुन सक्दछ । अबको पुस्तालाई सिद्धान्तका बढेबढे पोथ्रा र फोस्रा भाषणभन्दा पनि व्यहारका सर्वजनहिताय स–साना कामले सर्वसाधरणलाई बढी आकर्षित गर्छ ।
मलाई विश्वास छ यस तिज कार्यक्रमले यो सत्यलाई आत्मसात् गर्नेछ । मानिसलाई आफ्नो भाषा, संस्कृति र रीतिरिवाज प्राणभन्दा पनि प्यारो हुने भएता पनि प्रगतिशीलताले अनुचित परम्परालाई जस्ताको तस्तै अनुसरण गर्नु उपयुक्त नहुने भएकोले सोमा समसामयिक परिमार्जनकासाथ प्राचीनताको परिमार्जित अविरलतालाई चट्नीको रुपमा कार्यक्रममा स्थान प्रदान गर्ने कोसिस गर्दा सिर्जनात्मकताको आशा लाग्दो उज्यालो झिल्काको भनक दिनेछ ।

प्रिय कमरेड,
आम नेपाली नारीहरुको महान् पर्व तिजको माहोलमा रमाइरहँदा यहाँहरुले योगमाया पछि कम्युनिष्ट पार्टीको संस्थापक मोतीदेवी, साधनार सहाना प्रधान, मङ्गलादेवी सिंह, शान्ता मानवी, अष्टलक्ष्मी शाक्य र स्थानीय तहमा पनि धेरथोर उहाँहरुकै जस्तो योगदान गर्ने अग्रजहरुको स्मरण गर्न भुल्नु हुन्न ।
सुस्ताएको अर्थतन्त्रलाई केही समयका लागि मात्र भएपनि धेरथोर चलायमान बनाउन तिज कार्यक्रमको योगदान त रहला नै । तर, अझै पनि २५ प्रतिशतभन्दा बढी जनसंख्या गरिबीको रेखामुनि रहेको, धनी र गरीबबीचको खाडल झनझन फराकिलो बन्दै गएको, समग्र अर्थतन्त्र लामो समयदेखि बाह्य एवं आन्तरिक कारणले प्रतिकूल बन्दै गएको र मानिससँग व्यययोग्य आम्दानी कम भएको अवस्थामा तिज आउनुभन्दा धेरै समय अघिदेखि अनवरतरुपले एकपछि अर्को गर्दै भड्किलो ढङ्गले अन्तहीन तवरले मनाइने तिज कार्यक्रम र अन्धाधुन्ध गरिने फजुल खर्चले सर्वसाधरणमा नकारात्मक प्रभाव पार्ने निश्चित छ । यस्ता कामले चाडविशेषको महिमा र गरिमा पनि थेग्न नसक्ने तथ्यका विषयमा यहाँहरु सजग हुनुहुनेछ भन्ने विश्वास लिएको छु ।
सदैव पनौतीको भलो चाहने हामी मन, वचन र कर्मले नै पनौतीबासी हौं । प्यारो पनौती हाम्रो जन्मभुमि÷कर्मभुमि हो । संभावनाले परिपूर्ण प्यारो पनौतीको आधाभन्दा केही बढी आकाश ढाक्ने यहाँहरुले पनौतीको धार्मिक, सास्कृतिक ऐतिहासिक विशेषतालाई तिजको गीतमार्फत उजागर गर्नुपर्दछ । सामाजिक सञ्जालको साम्राज्य मौलाएको यस समयमा यहाँहरुको कर्णप्रिय सुरिलो स्वर र आकर्षक नृत्यको सम्मिश्रणले संसार पिट्नेछ र पनौतीको व्यापक प्रचारप्रसार हुनेछ ।
पनौतीको राम्रो गर्नु हामी सबैको साझा कर्तव्य हो । पनौतीको प्राकृतिक तथा मानव निर्मित सम्पदा र तिनीहरुको संभावना, स्रोतसाधनको अभाव नहुँदानहुँदै पनि पनौतीबासीका बर्षौदेखिको दीर्घकालीन महत्वका केहीे सीमित आंकक्षा र अपेक्षा परिपुर्ति गर्न स्थानीय सरकारले देखाएको उदासिनता, स्थानीय राजनीतिक दलहरुको चुनावको मुखमा अस्वभाविकरुपले बढ्ने सक्रियता र अन्यबेलाको उदेक लाग्दो चिरनिद्रा, बढ्दो सत्तामोह, सहयोद्धाप्रतिको घातप्रतिघात, लाभको पदप्रतिको एकलव्य निष्ठा र अन्य कामकार्वाहीप्रति बढ्दो उदासिनता, दलले जानान्जान गरेको भूलत्रुटीले सर्वसाधरणमा छाएको निरासा, व्यक्तिको फेर समाएर फर्मान जारी गर्न खोज्दा इमान्दार कार्यकर्ता उम्केको अवस्था आदि बिषयलाई पनि सचेत सामाजिक अभियन्ताको हैसियतले गीत र नृत्यको माध्यमबाट यहाँहरुले मज्जैले उराल्नु पर्दछ । निर्भयतापूर्वक तिजको भाकामा राम्रो गर्नेलाई सोवापत स्याबासी र नराम्रो गर्नेलाई आइन्दा त्यसो नगर्न भद्र खबरदारी गर्न चुक्नु हुन्न ।
गीत र सङ्गीतले जस्तो मानवहृदयमा छिटो र गहिरो प्रभाव अन्य चिजले पार्न सक्दैनन् । मातृसंस्थाप्रति पनि हरेक जनसङ्गठनको केही न केही कर्तव्य र दायित्व हुने भएकोले ‘पर्ख र हेर’ को अवस्थामा रहेका देशभक्त, लोकतान्त्रिक र प्रगतीशील जन समुहलाई यहाँहरुले आयोजना गर्ने रचनात्मक तथा चेतनामूलक कार्यक्रमको माध्यमबाट संगठित हौं हौं लाग्ने सन्देश प्रबाह गरी मातृ संस्थाको साख बढाउने कोसिस गरिरहनु पर्दछ । मातृसंस्थाको मिसन ८४ को लक्ष्य हासिल गर्न जनसङ्गठनले निर्वाह गर्नुपर्ने अहिलेको पहिलो दायित्व भन्नेकै पहिलेका मतदाता जोगाउनु र अतिरिक्त निष्ठावान मतदाता बढाउनु हो ।
समय अभाव र तयारीको कमीले यी सबै कार्य यो पटक गर्न संभव नभए पनि आगामी दिनमा अध्यक्ष लगायत सिङ्गो कमिटीको ध्यान यस तथ्यतर्फ जाने नै छ भन्ने दृढ विश्वास लिदै कार्यक्रमको फेरि तिज कार्यक्रमको पूर्ण सफलताको कामना गर्दै अहिले कलमलाई यही विश्राम दिन्छु ।
हार्दिक अभिवादन सहित ✊🏼
( लेखक केशव थापा यस जिज्ञासा मिडियाका प्रमुख सल्हाकार तथा नेपाल बौद्धिक परिषद् काभ्रे जिल्ला समितिका अध्यक्ष हुन् । केशव थापाले अनेमसंघ पनौती नगर कमिटीलाई कार्यक्रमको सफलताको कामना गर्दै लेख्नु भएको पत्रको सम्पादित अंश )
-
Jigyasanepal