Breaking News
धुलिखेलमा स्कुटर दुर्घटना : २० वर्षीय युवकको ज्यान गयो    ||     खुर्कोट हिरासत मृत्यु प्रकरणः एसपीसहित १० प्रहरीमाथि कारबाही सिफारिस    ||     काठमाडौँमा रातिदेखि वर्षा, दिउँसोपछि फेरि पानी पर्ने सम्भावना    ||     पनौतीमा श्रीमद्भागवत महायज्ञको कोषलाई लिएर विवाद    ||     सुनकोसीमा पौडी खेल्ने क्रममा दुई बालकको दुःखद मृत्यु    ||     सडकमा युवाको मृत्युयात्रा: हरेक दुई दिनमा १५ जनाको ज्यान जाँदा पनि किन रोकिँदैन दुर्घटना?    ||     हारको समीक्षा गर्दै एमाले पुनर्गठनतर्फ, बादलको संयोजकत्वमा शक्तिशाली कार्यदल गठन    ||     संखुवासभामा १६९ मिमि वर्षा, बाढी–पहिरोको उच्च जोखिम    ||     ६ जिल्लामा तातो लहरको चेतावनी, ४० डिग्रीभन्दा बढी तापक्रम पुग्ने सम्भावना    ||     अनित्य जीवन, असल कर्म र समाजप्रतिको उत्तरदायित्व    ||    

अनित्य जीवन, असल कर्म र समाजप्रतिको उत्तरदायित्व

  •   ४ दिन अघि | ८ जेष्ठ २०८३, शुक्रबार

✍️ कुमार सिङ तामाङ 

यो संसार परिवर्तनशील छ। आज जे छ, भोलि त्यही अवस्था रहन्छ भन्ने कुनै निश्चितता छैन। प्रकृतिदेखि मानव जीवनसम्म सबै कुरा समयसँगै बदलिन्छन्। मानव जीवन पनि अनित्य छ—क्षणक्षणमा परिवर्तन भइरहेको। यही अनित्य संसारमा मानिसले गर्ने असल कर्म, सकारात्मक सोच र सिर्जनात्मक योगदानले मात्र जीवनलाई अर्थपूर्ण बनाउँछ।

मानिस जन्मिनु मात्रै ठूलो कुरा होइन, जन्मिएपछि कसरी बाँच्छ भन्ने कुरा अझ महत्वपूर्ण हो। धेरै मानिसहरू यो धर्तीमा किन जन्मिए, के उद्देश्यका लागि बाँचिरहेका छन् भन्ने कुरा नै नबुझी जीवन बिताइरहेका हुन्छन्। कोही केवल आफ्नो व्यक्तिगत सुख, सुविधा र स्वार्थमा सीमित हुन्छन्। उनीहरूसँग धन, सम्पत्ति र भौतिक सुखसुविधा त हुन्छ, तर समाज र मानवताको निम्ति कुनै योगदान हुँदैन। उनीहरू आफ्नै लागि बाँच्छन् र अन्ततः आफ्नै संसारमा हराएर जान्छन्।

तर समाजमा केही यस्ता व्यक्तिहरू पनि हुन्छन्, जसले व्यक्तिगत रूपमा धेरै सफलता नपाएका हुन सक्छन्, भौतिक सुखसुविधा कम हुन सक्छ, तर उनीहरू सधैं समाजको हित, मानवताको सेवा र प्राणीहरूको कल्याणका लागि समर्पित हुन्छन्। यस्ता व्यक्तिहरू दुर्लभ हुन्छन्। वास्तवमा समाजले गर्व गर्ने पात्र पनि यिनै हुन्।

“यदि आँखाको बदलामा आँखा लिनुहुन्छ भने, पुरै संसार अँध्यारो हुनेछ ।” — महात्मा गान्धीले पनि जीवन दर्शनको शन्दर्भ मा भनेका छ्न ।

जीवनको मूल्य हामी कति वर्ष बाँच्यौँ भन्नेमा होइन, बाँचुन्जेल कति असल कर्म गर्यौँ भन्नेमा निर्भर हुन्छ। हामीले समाजलाई के दियौँ, मानवता र प्राणीजगत्को हितका लागि कस्तो योगदान पुर्‍यायौँ भन्ने कुराले जीवनको वास्तविक अर्थ तय गर्छ। भौतिक शरीर एकदिन समाप्त हुन्छ, तर असल कर्म, सकारात्मक सोच र सिर्जनात्मक योगदान सधैं अमर रहन्छन्।

आजको समाज अत्यधिक व्यक्तिवादी बन्दै गएको छ। मानिससँग आफ्नो स्वार्थ पूरा गर्ने समय छ, तर अरूको हित सोच्ने समय छैन। यही कारण समाजमा असमानता, अन्याय, द्वेष र पीडा बढिरहेको छ। यदि हामीले आफ्नो सोच परिवर्तन गर्न सकेनौँ भने, दुःख र अशान्तिले भरिएको जीवन नै हाम्रो नियति बन्नेछ।

भगवान बुद्धले पनि सधैं सचेत रहन सिकाउनुभएको छ। हामीले गर्ने कर्ममा, बोल्ने भाषामा, सोच्ने विचारमा र अरूप्रति गर्ने व्यवहारमा सचेत हुन जरुरी छ। रिस, राग, घमण्ड र स्वार्थ त्यागेर सकारात्मक सोचका साथ अघि बढ्न सके मात्र समाज सुन्दर बन्न सक्छ।

असल कर्मले नै सुख, शान्ति र सन्तुष्टि दिन्छ। यही नै स्वर्ग हो। खराब कर्म, अन्याय र स्वार्थले दुःख, पीडा र अशान्ति दिन्छ, यही नै नर्क हो। स्वर्ग र नर्क कतै टाढा छैनन्, यी त हाम्रो आफ्नै कर्मभित्र लुकेका छन्।

हामीले यस्तो समाज निर्माण गर्नुपर्छ जहाँ सबैको हित होस्, कसैमाथि अन्याय नहोस्, भाईचारा र अपनत्व कायम रहोस्। “मैले खाँदा अरूले पनि खान पाऊन्, मैले न्याय पाउँदा अरूमाथि अन्याय नहोस्” भन्ने भावना प्रत्येक मानिसमा विकास हुनुपर्छ। समाजका आवश्यक भौतिक निर्माणदेखि नैतिक र मानवीय विकाससम्म सबै क्षेत्रमा सकारात्मक योगदान दिन आवश्यक छ।

मानव जीवन क्षणभंगुर छ। आज छौँ, भोलि नहुन सक्छौँ। तर हामीले गरेका असल कर्म, सिर्जना र योगदान भने सधैं जीवित रहनेछन्। तिनै योगदानले भावी पुस्तालाई प्रेरणा दिनेछन्। त्यसैले आउनुहोस्, सकारात्मक सोच, असल कर्म र मानवताप्रतिको उत्तरदायित्वका साथ जीवनलाई सार्थक बनाऔँ।

हामी नरहलाौं, तर हाम्रो असल कर्म र सिर्जनाहरू समाजमा कल्पौँसम्म प्रेरणाको दीप बनेर बलिरहून्।

भवन्तु सर्वमङ्गलम् ।।

  • Jigyasanepal

थप