Breaking News
आज कोशीदेखि लुम्बिनीसम्म वर्षाको सम्भावना, मेघगर्जन–चट्याङको चेतावनी    ||     बैंक खाताबाट रकम चोरी बढ्दो, अनधिकृत लिंक नखोल्न प्रहरीको चेतावनी    ||     घरबाट हराएकी महिला शिवपुरीमा गाडिएको अवस्थामा भेटिइन्, हत्यामा संलग्न आरोपमा युवक पक्राउ    ||     पहिरोले स्काभेटर पुरिँदा चालकको मृत्यु, काभ्रेमा दर्दनाक दुर्घटना    ||     बीपी राजमार्गमा राति सवारी चलाउन रोक, प्रशासनको निर्देशन    ||     सुनचाँदीको मूल्यमा व्यापक गिरावट, तीन दिनमै तोलामा ५१ सय रुपैयाँ घट्यो सुन    ||     आज देशभर आंशिकदेखि पूर्ण बदली, पहाडी भेगमा मेघगर्जनसहित वर्षाको सम्भावना    ||     लिपुलेक विवादमा भारतको जवाफ: ‘पुरानो मार्ग, नयाँ विषय होइन’    ||     शारदा मावि पूर्व विद्यार्थी समाजमा तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति घोषणा    ||     पहिरोको कहर: ३ प्रमुख राजमार्ग पूर्ण अवरुद्ध, यात्रु बीचमै अलपत्र    ||    

डाँडापारिका नागरिकको रोदन : सडक छैन, एम्बुलेन्स छैन, समयमै उपचार नपाएर ज्यान जोखिममा!

  •   १० महिना अघि | ७ साउन २०८२, बुधबार

शुकदेव थपलिया

जिग्यासा नेपाल – विशेष समाचार

साउन ७, काभ्रे | ‘एम्बुलेन्स छ तर चल्दैन, सडक छ तर गुड्दैन!’—काभ्रेको खानीखोला र महाभारत गाउँपालिकाका नागरिकले बर्षौंदेखि भोग्दै आएको भोगाइ यति पीडादायक छ कि कतिपय अवस्थामा रोगले होइन, ढिलो उपचारले ज्यानै जानसक्ने अवस्था आउँछ।

खानीखोला–२ फलामेटारकी २९ वर्षीया लक्ष्मी गोलेको घटना यही यथार्थको ज्वलन्त उदाहरण हो। असार २४ गते अचानक बेथा लागेपछि श्रीमान र छरछिमेकीको सहयोगमा उनलाई १ घण्टा बोकेर स्वास्थ्य चौकी लगियो। उपचार सम्भव नभएपछि बनेपास्थित अस्पताल रेफर गरिए पनि न सडक थियो, न एम्बुलेन्स।

२० हजार रुपैयाँ मागेको सुमो गाडी समयमै नपाउँदा लक्ष्मीलाई भोलिपल्ट तीन घण्टा स्ट्रेचरमा बोकेर ट्रक स्टेसनसम्म पुर्‍याइयो। अस्पताल पुग्दा ढिलो भइसकेको थियो—गर्भ बचाउन सकिएन। अहिले लक्ष्मी अस्पतालमै उपचाररत छिन्।

यस्तै, खानीखोला–१ का हेमबहादुर थिङ उच्च ज्वरो र गम्भीर लक्षण लिएर स्वास्थ्य चौकी पुगे। अर्धचेत अवस्थामा स्थानीयले चार घण्टा उकालो बोकेर गाडी चढाइ पुर्याउँदा रात परिसकेको थियो। अहिले उनी आइसियुमा छन्।


ठूलो मूल्यमा बिक्दैछ जीवन

महाभारत गाउँपालिका–२ का बाबुलाल मोक्तान पनि यस्तै मारमा परे। एक हप्तादेखि सिकिस्त बिरामी उनलाई चार घण्टा स्ट्रेचरमा बोकेर, ट्रकमा चढाएर बल्लतल्ल अस्पताल पुर्याइयो।

यी त केही उदाहरण मात्रै हुन्। ‘डाँडापारि’ भनेर चिनिने खानीखोला र महाभारतका बासिन्दा यस्ता विपद् दैनिक जस्तै भोगिरहेका छन्। सडक, पुल, स्वास्थ्य सेवा—सबैको चरम अभाव छ।

स्थायी सडक छैन, सवारी साधन गुड्दैन

२०७४ सालअघि यहाँ कच्ची बाटोसमेत थिएन। स्थानीय तहको निर्वाचनपछि केही कच्ची बाटो खनिए पनि वर्षामा सवारी साधन चल्न सक्दैन। अहिले खानीखोलामा दुईवटा एम्बुलेन्स छन् तर एउटालाई मर्मत गर्न नपुगेको ८ लाखको बिल थन्किएको छ भने अर्को बिग्रिएको छ।

स्वास्थ्य शाखा प्रमुख रामपुकार यादव भन्छन्, ‘बनाउने प्रयास जारी छ, मिस्त्री बोलाएका छौं।’

जनप्रतिनिधिको असहायता र सरकारको बेवास्ता

खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ भन्छन्, ‘हामीले सुमो गाडीलाई वर्षामा समेत सेवा दिन लगाउने प्रयास गरेका छौं। तर स्थायी सडक निर्माण गर्न पालिकाको स्रोतले पुग्दैन।’

अध्यक्ष थिङले दोभानको पुल नबन्दा नागरिकले दशकौंदेखि दुःख पाएको बताउँदै थपे, ‘पटकपटक संघ र प्रदेशलाई ध्यानाकर्षण गराएका छौं तर सुनुवाइ छैन।’

महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बा पनि संघीय सरकारसँग पटकपटक अनुरोध गर्दै आइरहेका छन्। ‘५० शय्याको अस्पताल आवश्यक छ। भौतिक पूर्वाधार बनाउँदैछौं तर प्राविधिक कारणले अस्पताल सञ्चालनमा आउन सकेको छैन,’ उनी भन्छन्।

जनसंख्या घट्दै, बसाइँसराइ बढ्दै

२०७८ को जनगणनाअनुसार खानीखोलामा १२ हजार २०१ र महाभारतमा १६ हजार ७९ जनसंख्या छ। तर, स्थायी मोटर बाटो र स्वास्थ्य सेवा नहुँदा सुगम क्षेत्रतिर बसाइँसराइको गति तीव्र हुँदै गएको छ।

स्थानीय प्रतिनिधिहरू भन्छन्—‘विकट भूगोलले हामीलाई थिचिरहेको छ। तर सरकारको नजर नपुग्दा नागरिकको ज्यान जोखिममा परेको छ।’

यस क्षेत्रमा तत्कालै स्थायी मोटरबाटो, एम्बुलेन्स सेवा र ५० शय्याको अस्पतालको स्थापनाबिना नागरिकको जीवन सुरक्षामा गम्भीर प्रश्न उठेको छ। डाँडापारिका यी आवाजहरू अब टाढा बस्नुपर्ने होइन—नीति निर्माता, सरकार र विकासका योजनाकारले गम्भीरताका साथ सुन्नुपर्ने घण्टी हो!


  • Jigyasanepal

थप