Breaking News
आज कोशीदेखि लुम्बिनीसम्म वर्षाको सम्भावना, मेघगर्जन–चट्याङको चेतावनी    ||     बैंक खाताबाट रकम चोरी बढ्दो, अनधिकृत लिंक नखोल्न प्रहरीको चेतावनी    ||     घरबाट हराएकी महिला शिवपुरीमा गाडिएको अवस्थामा भेटिइन्, हत्यामा संलग्न आरोपमा युवक पक्राउ    ||     पहिरोले स्काभेटर पुरिँदा चालकको मृत्यु, काभ्रेमा दर्दनाक दुर्घटना    ||     बीपी राजमार्गमा राति सवारी चलाउन रोक, प्रशासनको निर्देशन    ||     सुनचाँदीको मूल्यमा व्यापक गिरावट, तीन दिनमै तोलामा ५१ सय रुपैयाँ घट्यो सुन    ||     आज देशभर आंशिकदेखि पूर्ण बदली, पहाडी भेगमा मेघगर्जनसहित वर्षाको सम्भावना    ||     लिपुलेक विवादमा भारतको जवाफ: ‘पुरानो मार्ग, नयाँ विषय होइन’    ||     शारदा मावि पूर्व विद्यार्थी समाजमा तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति घोषणा    ||     पहिरोको कहर: ३ प्रमुख राजमार्ग पूर्ण अवरुद्ध, यात्रु बीचमै अलपत्र    ||    

आज देशभर नागको सम्मानमा विशेष पूजाआजा, नागपञ्चमी पर्व धार्मिक श्रद्धा र परम्पराको उल्लाससँग मनाइँदै

  •   ९ महिना अघि | १३ साउन २०८२, मङ्लबार

काठमाडौँ, साउन १३, २०८२ –

आज श्रावण शुक्ल पञ्चमीका दिन सनातन धर्मावलम्बीहरूले धार्मिक श्रद्धा र सांस्कृतिक परम्परासहित नागपञ्चमी पर्व देशभर मनाइरहेका छन्। वैदिक कालदेखि सुरु भएको मान्यता अनुसार आजको दिन नागदेवताको पूजाआजा गरी घरको मूलढोकामा नागको तस्बिर टाँस्ने चलन छ। यसले घर र परिवारलाई सर्प, बिच्छी, चट्याङ, अग्नि र अन्य प्राकृतिक विपत्तिबाट रक्षा गर्ने धार्मिक विश्वास रहिआएको छ।

धर्मशास्त्रविद् डा. देवमणि भट्टराईका अनुसार –

> “नागलाई सर्पहरूको राजा मानिन्छ र उनीहरू रिसाएमा वर्षा नहुने जनविश्वास छ। त्यसैले नागलाई प्रसन्न तुल्याउन यो पर्व मनाइन्छ। नाग विष्णु र शिवका रूपमा पूजनीय छन्, जसरी शिवले नागको माला लगाउँछन् र विष्णुले शेषनागमाथि शयन गर्छन्।”

ऐतिहासिक र पुराणिक महत्त्व

बराह पुराण अनुसार आजकै दिन ब्रह्मा र नागराजबीच संवाद भएको थियो, त्यसैले यो दिन विशेष मानिन्छ।

भगवान गणेशको हातमा रहेको नाग, लक्ष्मण र बलरामलाई शेषनागको अवतारका रूपमा मानिने विश्वास, र भगवान बुद्धको मूर्तिमा सर्पमुकुट रहेको परम्परा नागको धार्मिक गहिरो महत्त्व दर्शाउँछन्।

नागपञ्चमी मनाउने किंवदन्ती

एक जनश्रुतिअनुसार, एक किसानले खेत खन्ने क्रममा तीन साना नाग मारेपछि क्रोधित नागिनीले बदला स्वरूप किसानसहित परिवारका सदस्यहरू मारिन्। तर, बाहिर रहेकी छोरीले नागिनीलाई पूजा गर्ने, दूध दिने वाचा गरिन्। यसै पूजाबाट प्रसन्न भएर नागिनीले परिवारलाई पुनर्जीवन दिएकी थिइन्।

त्यही दिन श्रावण शुक्ल पञ्चमी भएकाले आजको दिनबाटै नागपूजाको परम्परा बसेको भनाइ छ।

गुरु गोरखनाथ र नाग सम्बद्ध अर्को जनश्रुति

गुरु गोरखनाथले नौ नागलाई आफ्नो आसन बनाएर तपस्या गर्दा पानी रोकिएको मानिन्छ। गुरु मत्स्येन्द्रनाथको आगमनपछि गोरखनाथ उठे र वर्षा सुरु भएको कथा पनि प्रचलित छ।

पूजाका विधि र परिकार

आजको दिन अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख नामक आठ प्रमुख नागहरूको पूजा ब्राह्मण पुरोहितद्वारा विधिपूर्वक गरिन्छ। पूजा पश्चात् नागको तस्बिर घरको मूलढोकामा टाँसिन्छ।

खेतबारीमा खनजोत निषेध गरिन्छ र सर्प मार्न निषेध गरिएको हुन्छ।

गाईको दूध, दुबो, अक्षता, खीर, रोटी लगायत परिकार अर्पण गरिन्छ।

विशेष पूजास्थलहरू

काठमाडौँको नागपोखरी, टौदह, भक्तपुरको सिद्धपोखरीलगायतका नागदह र कुण्डहरूमा आज विशेष पूजाआजा भइरहेको छ।

वैज्ञानिक पक्ष

नाग र सर्पहरूले विषालु तत्वहरू शोषण गरी वातावरण सन्तुलनमा सहयोग पुर्‍याउने भएकाले ऋषिमुनिहरूले उनीहरूको पूजा आरम्भ गरेको मानिन्छ।

नागपञ्चमीले धार्मिक, सांस्कृतिक र प्राकृतिक सन्तुलनको सन्देश दिन्छ, साथै यस दिनदेखि हिन्दू सनातन धर्मका चाडपर्वहरूको औपचारिक सुरुवात पनि हुने विश्वास गरिन्छ।

  • Jigyasanepal

थप