बागलुङ, जेठ ३ — नेपालमा पहिलोपटक हरित हाइड्रोजन ग्यास प्रयोग गरेर खाना पकाउने प्रविधिको सफल विकास गरिएको छ। बागलुङको बडिगाड गाउँपालिकामा सञ्चालन गरिएको नमुना परियोजनाअन्तर्गत पानी र खेर गइरहेको विद्युत्को प्रयोगबाट हाइड्रोजन ग्यास उत्पादन गरी सिलिन्डरमा भरेर चुलो बाल्न थालिएको हो।
तीन वर्षअघि अनुसन्धानका रूपमा सुरु गरिएको परियोजनाले अहिले व्यावसायिक प्रयोगतर्फ कदम बढाएको छ। परियोजनाअन्तर्गत उत्पादित हरित हाइड्रोजन ग्यासबाट खाना पकाउन सकिने सफल परीक्षणपछि यसलाई ग्रामीण ऊर्जा व्यवस्थापनको नयाँ विकल्पका रूपमा हेरिएको छ।
बडिगाड गाउँपालिका–२ मा रहेको गिरिङ्दिखोला लघु जलविद्युत् आयोजनाबाट उत्पादन भएर खेर गइरहेको विद्युत्लाई उपयोग गरी पानीबाट हाइड्रोजन निकाल्ने प्रविधि विकास गरिएको हो। २०६६ सालमा स्थापना भएको ७५ किलोवाट क्षमताको उक्त आयोजनाको विद्युत् पूर्ण रूपमा खपत नभइरहेको अवस्थामा त्यसलाई नयाँ ऊर्जा उत्पादनमा प्रयोग गरिएको परियोजनाले जनाएको छ।
कसरी बन्छ हरित हाइड्रोजन?
परियोजनामा पानीलाई विशेष प्रविधिमार्फत छुट्याएर त्यसमा रहेको अक्सिजन अलग गरिन्छ र हाइड्रोजन ग्यास संकलन गरी सुरक्षित रूपमा सिलिन्डरमा भरिन्छ। यही ग्यासलाई चुलोमा प्रयोग गरेर खाना पकाउन सकिने नेपाल इनर्जी फाउन्डेसनका अध्यक्ष मोहनदास मानन्धरले बताए।
उनका अनुसार हालसम्म ८ वटा सिलिन्डरमा हरित हाइड्रोजन ग्यास भरिसकिएको छ। एक वर्षअघि गरिएको प्रारम्भिक परीक्षण सफल भएपछि अहिले सुरक्षित भण्डारण र प्रयोगको चरणमा परियोजना पुगेको हो।
नेपाल इनर्जी फाउन्डेसनका व्यवस्थापक डिल्ली घिमिरेका अनुसार ग्यासलाई सुरक्षित रूपमा सिलिन्डरमा भर्ने प्रविधिको अध्ययनमै १८ महिना लागेको थियो। उनले उत्पादन गरिएको १ केजी हाइड्रोजन ग्यासले सानो परिवारलाई करिब एक सातासम्म खाना पकाउन पुग्ने जानकारी दिए।
अन्तर्राष्ट्रिय सहकार्यमा विकसित प्रविधि
यो परियोजना त्रिभुवन विश्वविद्यालयसहित विभिन्न देशका विश्वविद्यालय, वैज्ञानिक तथा प्राविधिक संस्थाको सहकार्यमा सञ्चालन गरिएको हो।
नेपाल इनर्जी फाउन्डेसन, ऊर्जा र वातावरणका लागि महिला सञ्जाल नेपाल, एसएन्डएओ कम्पनी लिमिटेड यूके, एचएसएलयू स्विट्जरल्याण्ड, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, बडिगाड गाउँपालिका तथा गिरिङ्दिखोला लघु जलविद्युत् आयोजनाको साझेदारीमा अनुसन्धान गरिएको हो।
परियोजनाले अब सुरक्षित वितरण प्रणाली, घरेलु प्रयोग विस्तार तथा व्यावसायिक उत्पादनका विषयमा थप अध्ययन अघि बढाउने जनाएको छ।
“नेपालको ऊर्जा क्षेत्रमा नयाँ सम्भावना”
गण्डकी प्रदेश सरकारका आर्थिक मामिलामन्त्री जीतबहादुर शेरचनले परियोजनाको उद्घाटन गर्दै हरित हाइड्रोजन नेपालको ऊर्जा भविष्य बन्न सक्ने बताए।
उनले वातावरण संरक्षण, विद्युत् खपत वृद्धि तथा स्वदेशी ऊर्जाबाट खाना पकाउने सम्भावनालाई बलियो बनाउने भएकाले यस्ता परियोजनालाई राज्यले नीतिगत प्राथमिकता दिनुपर्ने धारणा राखे।
“नेपालमा उत्पादन हुने विद्युत् खेर जान दिनुभन्दा त्यसलाई नयाँ ऊर्जामा रूपान्तरण गर्नु भविष्यका लागि महत्त्वपूर्ण कदम हो,” मन्त्री शेरचनले भने।
एक करोडभन्दा बढी लगानी
परियोजनाअन्तर्गत लघु जलविद्युत् आयोजनाको पुनर्निर्माण, भवन तथा कुलो मर्मत, उपकरण जडान र ग्यास उत्पादन प्रणाली विकासमा अध्ययनबाहेक करिब १ करोड रुपैयाँ खर्च भइसकेको जनाइएको छ।
गिरिङ्दिखोला लघु जलविद्युत् सहकारीका अध्यक्ष बेलबहादुर थापाले अब नागरिकले सहज रूपमा प्रयोग गर्न सक्ने सुरक्षित सिलिन्डर निर्माण र वितरण प्रणाली विस्तारका विषयमा काम अगाडि बढाइने बताए।
स्थानीयको उत्साह
स्थानीयवासी विष्णु अर्यालले हाइड्रोजन इन्धनबाट पकाएको खाना स्वादिलो र छिटो पाक्ने अनुभव सुनाए।
ऊर्जा क्षेत्रमा नयाँ प्रविधिको प्रयोगसँगै ग्रामीण क्षेत्रमा खेर गइरहेको विद्युत् उपयोग गर्ने, दाउरा र ग्यासमा निर्भरता घटाउने तथा वातावरणमैत्री ऊर्जा उत्पादन गर्ने दिशामा यो परियोजना नेपालका लागि ऐतिहासिक कदम मानिएको छ।
-
Jigyasanepal