Breaking News
धुलिखेलमा स्कुटर दुर्घटना : २० वर्षीय युवकको ज्यान गयो    ||     खुर्कोट हिरासत मृत्यु प्रकरणः एसपीसहित १० प्रहरीमाथि कारबाही सिफारिस    ||     काठमाडौँमा रातिदेखि वर्षा, दिउँसोपछि फेरि पानी पर्ने सम्भावना    ||     पनौतीमा श्रीमद्भागवत महायज्ञको कोषलाई लिएर विवाद    ||     सुनकोसीमा पौडी खेल्ने क्रममा दुई बालकको दुःखद मृत्यु    ||     सडकमा युवाको मृत्युयात्रा: हरेक दुई दिनमा १५ जनाको ज्यान जाँदा पनि किन रोकिँदैन दुर्घटना?    ||     हारको समीक्षा गर्दै एमाले पुनर्गठनतर्फ, बादलको संयोजकत्वमा शक्तिशाली कार्यदल गठन    ||     संखुवासभामा १६९ मिमि वर्षा, बाढी–पहिरोको उच्च जोखिम    ||     ६ जिल्लामा तातो लहरको चेतावनी, ४० डिग्रीभन्दा बढी तापक्रम पुग्ने सम्भावना    ||     अनित्य जीवन, असल कर्म र समाजप्रतिको उत्तरदायित्व    ||    

गुरुहरुका गुरु मित्रप्रसाद वाग्ले

  •   ११ महिना अघि | २६ असार २०८२, बिहिबार

    ✍🏼 केशव थापा 

राजकुमार महासत्व (नमोबुद्ध) को जन्मस्थल, गौतम ऋषिको तपसस्थल, गुरु गोरखनाथको नेपालको दक्षिण–पूर्वतर्फ पाइला राख्ने क्रमको अन्तिम भ्रमणस्थल,पञ्चपाण्डवको गुप्तबासस्थल पनौती पौराणिक महत्वको धार्मिक, सांस्कृतिक विशेषताले परिपूर्ण प्राचीन नगरी हो ।

श्री इन्द्रेश्वर महादेव र उन्मत्त भैरव अवस्थित परिसरको चारैतिर लिच्छवीकालमा निर्मित्त नारायण भगवानका मूर्तिकला, हिन्दु धर्मावलम्बीहरुले श्रद्धापूर्वक बुद्ध भगवानको र बौद्ध धर्मावलम्बीहरुले ससम्मान हिन्दु मठमन्दिरमा पूजा पाठ र नियमित दर्शन गर्ने प्रचलन रहेको पूण्यभूमि पनौती उहिलेदेखि नै धार्मिक सहिष्णुता र सामाजिक सद्भावको अद्वितीय नमूनाको सानो तर सुन्दर सहर हो  ।

आनो जीवनकालमा मानिसले एकपटक मात्र पनौतीमा पाइला राख्यो भने सारा पापबाट मुक्त हुने विश्वासकासाथ यसलाई पन्ति÷पलाँति पनि भनिन्छ । पद्मावती (पूण्यमति) , लीलावती (रोशीखोला) र रुद्रावतीको सङ्गमस्थल यसलाई उत्तरप्रयाग, सचीतीर्थ, त्रिवेणीघाट अनेक उपनामले जानिन्छ । प्रत्येक बा¥हवर्षको माघ महिनाभर लाग्ने मकरमेला स्वदेश तथा विदेशमा पनौतीको प्रचारप्रसार हुने महत्वपूर्ण समय हो ।  

महाभारत श्रृङखलाको उत्तरी काखमा हरियाली पर्वतमालाले घेरिएर (अहिले स्वरुप परिवर्तन भए पनि) शङ्खाकार आकारमा रहेको ज्ञानज्योतीले प्रदीप्त ऋषिमुनिको तपस्या स्थल, विभिन्नकालका राजामहाराजाको शासनकेन्द्रको रुपमा पनौती सहर रहेको पाइन्छ । निकै सरल र शान्त स्वभावका राणा प्रधानमन्त्री श्री ३ देवशमशेर ( वि.सं. १९५७ फागुन – १९५८ साउन ) ले बझाङी राजा जय पृथ्वीबहादुर सिंहबाट प्रभावित भै देश विकासको लागि शिक्षा नै आधारभूत तत्व भन्ने बुझी सर्वसाधरणको लागि उक्त अवधिमा देशका विभिन्न ठाउँमा पचासभन्दा बढी नेपाली भाषा  पााठशाला स्थापना गरे पनि पनौती सहर र आसपासका गाँउका सर्वसाधरणका छोराछोरीले पढ्न पाउँने गरी भने वि.सं. १९७२ (श्री ३ महाराज चन्द्र शमशेरको समयमा ) मात्र भाषा पाठशालाको नाममा औपचारिक शिक्षालयको स्थापना भएको थियो ।

कसैकसैले हाल पनौती न.पा. वडा नं. ३ कुशादेवीमा पहिले नै स्थापित उक्त भाषा पाठशाला वि.सं. १९९८ मा मात्र पनौतीमा स्थानान्तरण गरिएको हो पनि भन्दछन् । आधिकारिक दस्तावेज उपलब्ध नभएकोले यस सम्बन्धमा यसै हो भन्न सकिने अवस्था छैन । वि.सं. १९७२ देखि वि.सं. १९९८ सम्मका आधिकारिक दस्तावेज उपलब्ध नहुनु, त्यसबेला अध्यापनमा संलग्न हुने अग्रजहरुको अभिलेख नभेटिनु र स्थानीयले गुरु मित्रप्रसाद वाग्ले अघिका शिक्षक नाम बताउन नसक्नु जस्ता आदि कारणले गर्दा उल्लिखित भनाइलाई पुष्टि गर्न थप अध्ययन अनुसन्धानको खाँचो रहेकोछ ।  


पनौती पाठशालाको स्थापना वि.सं. १९७२ मान्ने हो भने पाठशाला स्थापनाको १६ वर्षपछि गुरुहरुका पनि गुरु मित्रप्रसाद वाग्ले (वि.सं. १९७२ ÷११÷२७  वि.सं. २०४३÷०२÷३१) ले वि.सं. १९९८ देखि वि.सं. २०२९ साल अर्थात ३१ वर्षभन्दा बढी अविच्छिन्नरुपले अत्यन्त जोश, जाँगरकासाथ झिंगटीले छाएको सत्तलमा अवस्थित पनौती भाषा पाठशालालाई विद्याकी देवी सरस्वतीको आराधना गर्ने पवित्र मन्दिर ठानेर तन्मयकासाथ अध्यापन कर्ममा जुटिरहनु भयो । पनौती र आसपासका ग्रामीण क्षेत्रमा अशिक्षाको कालरात्री भगाउन गुरु मित्रप्रसाद वाग्लेले कष्टकासाथ शिक्षाको चिराग सल्काएर त्यसलाई अखण्डदीपमा स्थायित्व प्रदान गर्न अथक प्रयास गर्नु भएको थियो ।

संस्कृत र नेपाली भाषाका प्रकाण्ड विद्वान नम्बरी पण्डित गुरु मित्रप्रसाद वाग्लेले तत्कालीन परिवेशमा आना शिष्यहरुलाई साँवाअक्षर चिनाउँदै पाटी, सिलोटमा लेख्न सिकाउँदै शिष्यहरुलाई क्रमशः रुद्री÷चण्डी÷लघुकौमुदी पाठ, स्वस्थानीवाचन, शुद्ध र राम्रो हस्तलेखनमा प्रवीण तुल्याउँनु हुन्थ्यो । गणितमा रुची राख्ने शिष्यहरुलाई गणितका चार नियम (जोड, घटाउ, गुणन, भागा), सरल र पात्रो हेर्ने लगायतको विषयमा पोख्त बनाउनु हुन्थ्यो भने गणितमा रुची नराख्ने शिष्यहरुलाई सापेक्षिकरुपले अलि सजिलो विषय ऐन स्रेस्तामा अब्बल तुल्याएर सरकारी जागिरको लागि योग्य बनाई दिनुहुन्थ्यो । छवर्षसम्म उहाँको सान्ध्यितामा रहेर मिहिनेतपूर्वक अध्ययन गर्ने छात्रले प्रथमा परीक्षा उत्तीर्ण भएको प्रमाणपत्र प्राप्त गर्दथे ।

यो प्रमाणपत्र प्राप्त गर्ने विद्यार्थी काठमाण्डौ उपत्यका वा बनारसका शैक्षिक संस्थाहरुमा सोभन्दा माथिल्लो तहमा अध्ययन गर्न योग्य ठहरिन्थे । आर्थिक लगायत अन्य विभिन्न कारणले घर छाड्न नसक्नेहरुका लागि जागिर प्राप्त गर्ने बलियो आधार हुन्थ्यो गुरुले प्रदान गर्ने प्रमाणपत्र । गुरुको आज्ञा शिरोपर गरेर मिहिनेतपूर्वक अध्ययनमा जुट्नेहरु आफू संलग्न क्षेत्रमा सम्मानित पद तथा मर्यादा प्राप्त गरेर गाउँ, समाजमा प्रतिष्ठित भै सुयोग्य गुरुको योग्य चेलाको उपमा प्राप्त गर्न सफल भएको पाइन्छ ।

चिना, टिपन लेख्ने÷हेर्ने, ग्रहशान्ति, कर्मकाण्ड तथा भागवत वाचनमा प्रवीण गुरु वि.सं. २०१८ सालमा काभ्रे जिल्लाबाट छानिएरु कोटीहोमको लागि उम्दा पण्डितको रुपमा नारायणहिटी दरबार जानु भएको प्रसङ्ग स्मरण गर्नुहुन्छ उहाँको शिष्य श्री केशवप्रसाद दाहाल । ज्वारीकोटसहितको सफेद कमिज सुरुवालमा सज्जिएर हिड्ने गुरु मित्रप्रसाद स्नान नगरी भोजन ग्रहण गर्नुहुन्नथ्यो । उहाँले ग्रहण गर्ने भोजन शुद्ध शाकाहारी हुन्थ्यो । स्थानीयकाबीच बाज्याको रुपमा अति श्रद्धय मित्रप्रसाद पाठशाला प्रवेश गर्नासाथ हातमा बेतको लौरो लिएर त्यसलाई बजार्दै शिष्यहरुको ध्यानाकर्षण गर्नुहुन्थ्यो ।

कण्ठबाट निस्कने ठूलो आवाजपछि बेतको लौरो नै शिष्यहरुलाई अनुशासित बनाएर पाठतर्फ ध्यान केन्द्रित गराउने उहाँको बलियो हतियार थियो । तत्कालीन अवस्थामा भाषा पाठशालाको पर्याय भनेकै मित्रप्रसाद गुरु र उहाँको हातमा हरदम हुने बेतको लौरो न थियो भनी  “ विचार, विद्या, विनयादि नजानी, हुँदैन कोही पनि त्यसै भाग्यमानी” गुरुले पटकपटक उच्चारण गर्ने अनमोलवाणी स्मरण गर्दै गहिरो सम्झनामा डुब्नुहुन्छ, उहाँका शिष्य लेखापढी व्यवसायमा मज्जाले जमेर अहिले निवृत्त जीवन गुजारी रहनु भएका श्री केशवप्रसाद दाहाल । गुरुको आसनको लागि त भने जस्तो मेच नभएको उक्त पाठशालामा हामी शिष्यले कहाँ डेस्कबेञ्च देख्नु ! हामी त किसानले सुकाएको बिस्कुन झै सुकुल, गुन्द्रीमा बसेर गुरुप्रदत ज्ञान आर्जन गर्दथ्यौं भनी बताउनु हुन्छ, श्री दहाल । आफू स्वानुशासनको अनुशीलन गर्ने गुरु मित्रप्रसादले धेरै महत्व र मर्यादा दिने विषय अनुशासन थियो ।  र,गुरुका प्रिय पनि अनुशासित शिष्य नै हुने गर्दथे । 

वि.सं. २०२९ सालपछि लागू भएको नयाँ शिक्षा पद्धतिको कारण पनौती भाषा पाठशाला नाम परिवर्तन गरेर पनौती प्राथमिक विद्यालय बन्यो भने गुरु मित्रप्रसाद पनि त्यहाँबाट सरुवा भएर श्री कुशादेवी निम्न माध्यमिक विद्यालयमा हाजिर हुन जानु भयो । लामो समय अध्यापनमा बिताएको उहाँलाई पेसाप्रति माया भएता पनि आनो धर्म, संस्कृति र परम्परालाई उपेक्षा गरेर पश्चिमा शिक्षा पद्धतिको अन्धानुकरण उहाँजस्तो परम्परावादी पुरोहित गुरुलाई मन नपर्नु स्वभाविकै हो भन्नु हुन्छ श्री कुशादेवी माध्यमिक विद्यालयका पूर्व प्राधानाध्यापक श्री रामप्रसाद अधिकारी । तीसको दशकको प्रारम्भमा सहकर्मी हैसियतले उहाँले वाग्ले गुरुलाई भेट्दा शरीरका अङगप्रत्याङ्गबाट बुढ्यौली छचल्किएको देखिन्थ्यो ।

  प्रधानाध्यापक श्री अधिकारीको विचारमा धार्मिक ज्ञान, सम्यक शाकाहारी  आहार, संस्कृत विषयको गहन ज्ञानको दृष्टिकोणले वाग्ले गुरु आदर्श व्यक्तित्व प्रतीत हुनुहुन्थ्यो । पनौतीमा अध्यापनरत रहँदा उहाँले जे जति मिहिनेत र सङ्घर्ष गर्नुभयो त्यो वन्दनीय छ । उहाँले कष्टले सल्काउनु भएको शैक्षिक चिराग अहिले पनौतीमा सामुदायिक र संस्थागत विद्यालयमा विभक्त भएर अहिले दन्दनाएर बलिरहेको छ ।

बिसको दशकको मध्यदेखि पनौतीको शैक्षिक विकासमा अथक तपस्या गर्ने हरिसुन्दर सैंंजू लगायत उहाँका समवयी शिक्षासेवी प्रेमी व्यक्तित्व एवं श्रीराम कर्माचार्यजस्ता गुरुहरुका पनि गुरु परमादरणीय शैक्षिक तपस्वी प्रकाण्ड विद्वान स्व.श्री मित्रप्रसाद वाग्लेको पूण्यात्मको चिर शान्तिको कामनासहित गुरु पूर्णिमाको यस पावन दिनमा उच्च सम्मान व्यक्त गर्दछु ।  

लेखक थापा यस अनलाइनका प्रमुख सल्लाहकार हुनुहुन्छ । 

  • Jigyasanepal

थप